गाडीले धुँवा फालेको सर्वसाधारणले देखे तर सरकारले देखेन्

उपत्यकाभित्र वा बाहिरी जिल्लामा सञ्चालित निजी प्लेटका वा सार्वजनिक यातायात यत्रो कालो धुँवाको मुस्लो फालेर गुडिरहेको देखिन्छ । तापनि ती सवारीको अगाडि हरियो स्टीकर टाँसिरहेको भेटिन्छ । गाडीबाट निस्किएको धुँवाका कारण बाटोमा हिँड्न पनि महामुश्किल छ । हानिकारक धुँवाले आँखा पिरो हुन्छ, श्वास फेर्न गाह्रो पनि उत्तिकै सास्ती हुन्छ । मुख छोपेर हिँड्नुपर्ने बाध्यता छ, सर्वसाधारणलाई । यता, धुँवाकै कारणले मौसममा पनि निकै असर परेको छ ।

सरकारले २० वर्ष कटेका सवारी साधन हटाउने निर्णय गरिसकेको छ । सवारी दर्ता भएको मितिले २० वर्ष पुगेका गाडी विस्थापना गरिने भनेर कानुन बनिसकेको छ । जुन राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा समेत गइसकेको छ । तर, ट्राफिक प्रहरीले चेकजाँच नगर्दा बाटोमा खुलेआम आयु पुगेको गाडी दौडिरहेको छ । ट्राफिक निदाउँदा यसको मार सर्वसाधारणलाई परेको छ । ट्राफिक र यातायात व्यवसायीको मिलोमतोमा सरकारको निर्णयलाई धोती लगाउने काम भइरहेको छ ।

अहिले पनि बाटोमा सिसा फुटेको, सिट सबै निस्किसकेको, कुच्चिएको गाडी गुडिरहेको छ । यस्ता सवारीमा यात्रा गर्न जोखिमपूर्ण छ भने यसले प्रदुषण र ट्राफिक जाम पनि उत्तिकै गरेको छ । तर, ट्राफिकलाई मतलब छैन् । यातायात व्यवसायीहरुले यातायात कार्यालयका कर्मचारीलाई घुस खुवाएर हरियो स्टीकर र जाँचपास ल्याइरहेका छन् । गाडी बाटोमा गुडिरहेको हुन्छ । बिलबुक लगेर हरियो स्टीकर र जाँचपास पाँउछन् । यातायातका कर्मचारीको हातमा दुई हजार थमाइदियो भने ६ महिनाको जाँचपास पाइन्छ ।

त्यसमध्ये दुई सय रुपैयाँ सरकारको ढुकुटीमा जान्छ, अरु यातायातका कर्मचारीको खल्तीमा । त्यस्तै, हरियो स्टीकरका लागि पनि दुई हजार रुपैयाँ तिर्छन् । ५० रुपैयाँ राज्यको ढुकुटीमा जान्छ, एक हजार ९५० कर्मचारी ल्वाप्पै पारिदिन्छन् । गाडी यात्रु बोकेर बाटामा गुडिरहेको हुन्छ, बिलबुकमा जाँचपास र प्रदुषण पास भनेर लेखिएको हुन्छ । ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग र वातावरण विभागले कहिलेपनि बाटोमा छड्के जाँच गरेको पाँइदैन् ।

अनुगमन गर्ने निकाय नै निदाएपछि व्यवसायीलाई मनलाग्दी गर्ने आत्मबल त बढ्ने नै भयो । चढ्न नसक्ने गाडीहरु बाटामा गुडेका छन् । यात्रुचाँहि सँधै थोत्रा, कबाडी र झ्याम्पट सवारीमा यात्रा गर्नुपर्ने हो ? गाडी रंगरोगन गरेको हुँदैन् । टायर खिएका गाडीहरु गुडिरहेका छन् । सिटबाट किला निस्किरहेको हुन्छ । गाडी त्यस्तै फोहोर हुन्छ । झयालमा सिसा हुँदैन् । यस्ता गाडीहरु जाँचपास भएका छन् । कर्मचारीहरु बिकाउ हुँदा यात्रुले पैसा तिरेर पनि राम्रो गाडी चढ्न पाएनन् ।

यातायात व्यवसायीले गाडी मर्मत नै गर्दैनन् । समयसमयमा गाडी मर्मतसम्भार गर्नुपर्ने हुन्छ । गाडीको कन्डिशन ठिक छ कि छैन् ? यो त हेर्नुपर्यो नि । यातायात व्यवसायीलाई जसरी पनि पैसा कमाउनु छ । तर, त्यस्ता गाडीका कारण यात्रुको ज्यान नै जोखिममा परेको छ । मर्न मनलागेर गाडी चढेजस्तै भएको छ । पैसा तिरेर यात्रा गर्नुपरेको छ । तर, कतिखेर ज्यान जाने हो थाहा छैन् । गाडीको अवस्था ठिक नहुँदा पछिल्लो समय धेरै दुर्घटना भइरहेको छ ।

यात्रुलाई गाडी कति वर्ष पूरानो हो ? थाहा हुँदैन् । गाडी आएपछि यात्रु चढ्छन्, आफ्नो गन्तब्यमा नपुग्दै दुर्घटनामा परेर मर्छन् । यो क्रम अहिले व्यापक बढेको छ । सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या उच्च छ । यात्रुले बिलबुक मागेर चेक गर्ने कुरा भएन् । ट्राफिक चेक गर्न चासो देखाउँदैन् । सरकारका निकायहरु गैरजिम्मेवार हुँदा यात्रुहरुले अकालमा ज्यान गुमाइरहेका छन् । कतिपय सार्वजनिक सवारीले नक्कली सिट हालेका छन् ।

त्यस्ता सवारीलाई ट्राफिकले कारबाही गरेको छैन् । यातायात व्यवसायीले ढोकैसम्म यात्रु हालेर गाडी गुडाइरहेका छन् । गाडीले धान्न सकेको हुँदैन् तर उनीहरु आफ्नो फाइदाका लागि कोचीकोची यात्रु हाल्छन् । केही कारणबस् दुर्घटना भयो भने जिम्मेवार को ? यातायात व्यवसायी कि ट्राफिक प्रहरी ? ट्राफिक अनुगमन नगर्ने, यातायात व्यवसायी मनोमानी चलाउने अनि मरिदिनुपर्ने चाँहि जनता ? सरकारले ट्राफिक राख्नु नै बेकार भएको छ ।

ट्राफिक भएपनि नभएपनि केही फरक आएको छैन् । उनीहरुकै अगाडिबाट यातायात व्यवसायीले ढोकैभरी यात्रु हाल्छन् तर केही गर्ने होइनन् । जनताले तिरेको कर फोगट्टे खेर गइरहेको छ । काम नै नगर्ने हो भने जनताले तिरेको करबाट किन तलबभत्ता लिनु ? किन लुगा लगाउनु ? ट्राफिकले कहिले सवारीमा चढेर अनुगमन गरेको छ ? कुनै गाडीमा भाडा लिस्ट छ ? सरकारले एक किलोमिटरबाट पाँच किलोमिटरसम्म २० रुपैयाँ भाडा तोकेको छ । तर, भाडादरमा भागबण्डा नगरिदिँदा आधा किमि यात्रा गर्ने र पाँच किमि यात्रा गर्नेले उत्ति नै भाडा तिर्नुपरेको छ ।

एक किमि यात्रा गर्नेले त चार रुपैयाँ तिर्नुपर्ने होइन् र ? सरकारले सर्वसाधारण चुस्ने र यातायात व्यवसायीलाई धनी बनाउने काम गरिरहेको छ । एउटा व्यक्ति एकदिनमा चार चोटिसम्म सार्वजनिक यातायात चढ्छन् । यातायात व्यवसायीले सरकारले तोकेकोभन्दा बढी भाडा लिएर दिनमा १८ करोड रुपैयाँभन्दा बढी ठग्छन् । चाहे ट्याक्सी होस् चाहे अन्य सार्वजनिक सवारी साधन जहाँपनि लुटैलुटको धन्दा मच्चाइएको छ । यता, सरकारले लामो समयदेखि नयाँ ट्याक्सीको दर्ता खोलेको छैन् ।

सिण्डिकेट यथावत छ । यातायात क्षेत्रमा एउटै व्यवसायीले वर्षौदेखि राज गरिरहेका छन् । हरियो प्लेट र कालो प्लेटको ट्याक्सीको दर्ता नखोलिदिँदा यात्रु मर्कामा परेका छन् । आपतविपत पर्दा सवारी साधन पाउन महाभारत छ । पाएपनि चर्को भाडा तिर्नुपर्ने बाध्यता छ । सरकारको कारणले जनता सबैतिर ठगिए, लुटिए । सवारी साधन दुर्घटनामा परेर दैनिक ११ जनाले ज्यान गुमाइरहेका छन् । बस दुर्घटनामा पर्दा एकै ठाँउमा ३४ देखि ३५ जना मरेको घटना पनि छन् ।

विडम्बना, सरकारको आँखा खुल्दैन् । सरकारको लापरवाहीले गर्दा जनताको ज्यान गइरहेको छ । सरकारलाई जनताको अलिकति पनि माया छैन् । जनताप्रति सरकार जिम्मेवार हुन सकेन् । थोत्रा गाडी चल्न नदिने, कलिलो उमेरका व्यक्तिलाई लाइसेन्स नदिने, घुस खाएर थोत्रा सवारीलाई जाँचपास नदिने, गाडी चेकजाँच गर्नेलगायतका नियम बनाउनुपर्यो । त्यस्तै, दुर्घटनामा परेर ज्यान गुमाएकालाई ३० लाख रुपैयाँ बीमाबापत दिनुपर्छ । क्रिया खर्च तीन लाख रुपैयाँ दिनुपर्छ ।

अंगभंग भएकालाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्छ । उसको सबै उपचार खर्च यातायात व्यवसायीले बेहोर्नुपर्छ । यातायात व्यवसायीले मान्छे मार्यो भने ३५ दिनमा धरौटी तिरेर निस्किन्छ । गाडी दुर्घटनामा परेर यात्रु मर्यो भने एक लाख क्षतिपूर्ति दिन्छ । ५० हजार क्रिया खर्च । त्यस्तै, गाडीले ठक्कर दिएर मान्छे मर्यो भने पाँच लाख क्षतिपूर्ति दिन्छ । एक लाखमा मान्छेको ज्यान किन्न पाइन्छ ? मर्ने मान्छे मरेको मर्यै हुन्छ । यातायात व्यवसायीलाई केही न केही ।

न सजाय काट्नुपर्यो न उसको केही बिग्रिन्छ । नेपालको संविधानले आफ्ना नागरिकलाई बाँच्न अधिकार त दिएको होला नि ? एउटा नागरिकको मृत्यु हुँदा उसको परिवारलाई कति क्षति हुन्छ ? राज्यलाई कति घाटा हुन्छ ? उसले कमाएर उसको परिवार पाल्थ्यो । राज्यलाई पाइलापाइलामा कर आँउथ्यो । राज्यले जनता जन्माउने होइन्, जनता मार्नेलाई छोड्ने अधिकार पनि राज्यसंग छैन् । आफ्नो सन्तान गुमाउनेलाई मात्र पीडा थाहा हुन्छ । राज्यलाई त के छ र ?

यातायात व्यवसायीले लामो समयदेखि राजस्व छलिरहेका छन् । गाडीमा लगानी गरेको र दैनिक आम्दानीको राजस्व यातायात व्यवसायीले तिरेका छन् ? एउटा गाडीमा १० देखि ८० लाखसम्म लगानी गरिएको छ । गाडीले दैनिक पाँचदेखि ५० हजारसम्म आम्दानी गर्छ । तर, कर खोइ त ? बाटो राज्यको हो । राज्य यातायात व्यवसायीको सामु लाचार बन्यो । २०४९ सालदेखि सरकारले यातायात व्यवसायीसंग लिनुपर्ने राजस्व बढेको छैन् । तर, यात्रुले तिर्नुपर्ने भाडा त पटकपटक बढ्यो ।

सरकारभन्दा यातायात व्यवसायी शक्तिशाली बने । यात्रु र राज्य दुवैलाई यातायात व्यवसायीले ठगेका छन् । सरकारले दुई पाङग्रे सवारी साधनको प्रदुषण चेक गर्ने कानुन ल्यायो भने राज्यको ढुकुटीमा राजस्व आँउछ । प्रदुषण कम हुन्छ । अहिले सबैभन्दा धेरै दुई पाङग्रे सवारी साधन सञ्चालनमा छन् ।

अनुसा थापा
भक्तपुर