कविता- “मेरो देश र म” : अमृता भण्डारी

मलाई थाहा छ,
बालापन सकिदै गर्दा
युवा हुँदै गएको हुँ म!
त्यहीँ युवा जसलाई,
रास्ट्रको मुटु अर्थात
गहना भन्ने गरिन्छ!!
किनकि म यो देशको
उत्पादन हुँ र धर्तीको
एक असल सन्तान हुँ!

मलाई यो कुरा पनि
राम्रोसँग थाहा छ कि,
बुढेसकालको सहारा
छुटेका बाबुआमा जसरी
मेरो अभावमा यो देश
खल्लो हुनेछ अनि रुनेछ!

म स्वयम पनि मातृत्वबाट
वन्चित हुन बाध्य भएको
बालक जसरी सजिलैसंग
मेरो प्यारो देश नेपालको
आत्माबाट छुटेर टाढा
हुन अवश्य सक्ने छैन!!

मलाई यो पनि थाहा छ,
मेरो जननी यो देश र म
देशको सन्तान भएकाले
देश विकास एवं संरक्षण
गर्नु मेरो कर्तव्य हुनेछ र
मलाई आफ्नो समिपबाट
टाढा हुन नदिनु यो देशको
प्रमुख जिम्मेवारी हुनेछ!!

तर मलाई यो थाहा छैन कि
मेरो देश नेपालले जिम्मेवारी
वहन गर्न जानेन कि मैले नै
दायित्व निभाउन जानिन!!

अहिले म मेरो देशमा छैन र
मेरो देश मेरो साथमा छैन!!

 

-अमृता भण्डारी